प्रतिनिधिसभा निर्वाचन केन्द्रित मन्त्रिपरिषद् बैठक जारी

135 Shares

काठमाडाैं । प्रधानमन्त्री सुशिला कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठक मुख्यतः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र प्रशासनिक समन्वयका विषयमा केन्द्रित रहनेछ । निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर शान्ति–सुरक्षा सुदृढ बनाउने, मतदान केन्द्रहरूको व्यवस्थापन प्रभावकारी बनाउने तथा आवश्यक स्रोत–साधन परिचालन गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

बैठकमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायत सम्बन्धित निकायबाट निर्वाचन तयारीको प्रगति विवरण प्रस्तुत हुने कार्यक्रम रहेको छ । विशेषगरी संवेदनशील क्षेत्रको सुरक्षा व्यवस्थापन, निषेधाज्ञा तथा कर्फ्यु जारी गरिएका जिल्लाको अवस्थाबारे समीक्षा, तथा मतदातालाई सहज वातावरणमा मतदान गर्ने सुनिश्चितता दिलाउने विषयमा निर्णय हुन सक्ने स्रोतको भनाइ छ ।

त्यसैगरी, हिमाली तथा दुर्गम जिल्लामा मतदान सामग्री ढुवानी, कर्मचारी परिचालन तथा आपत्कालीन तयारीका विषयमा पनि विस्तृत छलफल हुने बताइएको छ । सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचनालाई नियन्त्रण गर्ने उपायबारे समेत सरकार गम्भीर देखिएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सरकारको प्रतिबद्धता दोहोर्‍याउँदै प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायलाई आवश्यक तयारी तीव्र बनाउन निर्देशन दिने तयारी रहेको जनाइएको छ ।