वसन्तपुरमा चीर ठड्याइयो, उपत्यकाभरि फागु पर्वको रौनक

139 Shares

काठमाडाैं । हनुमानढोका दरबार क्षेत्रअन्तर्गत वसन्तपुरमा मंगलबार चीर ठड्याइएसँगै काठमाडौं उपत्यकाभरि ‘फागु’ अर्थात् होली पर्वको रौनक छाएको छ ।

अबको एक सातासम्म शहर रङहरूमा झुम्नेछ, गीतहरूमा गुञ्जिनेछ र प्रेमको भाषा बोल्नेछ । वसन्त ऋतुको आगमनसँगै मनाइने यो उत्सवले बाहिरी रङ मात्र होइन, भित्री भावनालाई पनि उज्यालो बनाउने सन्देश दिन्छ ।

हनुमानढोकाको गद्दी बैठक अगाडि विशेष विधिपूर्वक ठड्याइने चीर होलीको औपचारिक सुरुवातको संकेत हो । यो केवल काठको खम्बा मात्र नभई जनसहभागिता र सामूहिक एकताको प्रतीकका रूपमा लिइन्छ । स्थानीय गुठियार र सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा चीर ठड्याइने परम्परा रहिआएको छ ।

धार्मिक मान्यताअनुसार चीर ठड्याउनु असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ । पौराणिक कथाअनुसार प्रह्लादलाई मार्न खोज्ने होलिका आफैं अग्निमा भष्म भएपछि खुसीयाली स्वरूप यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।

होली केवल रङहरूको खेल मात्र होइन, मनका मैलाहरू पखाल्ने र आपसी आत्मीयता साटासाट गर्ने अवसर पनि हो । प्रकृतिको रङ्गीन क्यानभासमा मानिसहरूले आफ्ना दुःख बिर्सेर खुसीका रङ भर्ने समयका रूपमा फागु पर्वलाई लिइन्छ ।