काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभरका उद्योगी–व्यवसायीको सहभागितामा आफ्नो कार्यकालमा १० अर्ब रुपैयाँ पूँजी बराबरको कम्पनी स्थापना गर्न सफल भएको बताउनुभएको छ ।
काठमाडाैंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले १० अर्ब रुपैयाँ पूँजीसहित नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेड (एनडीपी) सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उद्योगी, व्यवसायी तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) समेतको सहभागितामा कम्पनी स्थापना गरिएको उहाँको दाबी छ ।
उहाँका अनुसार एनडीपीमार्फत ७७ वटै जिल्लाका उद्यमी तथा नवप्रवर्तकहरूले पूँजी प्राप्त गर्न सक्नेछन् । नवप्रवर्तन प्रवर्द्धन र देशमा उद्योग–व्यवसाय विस्तार गर्ने उद्देश्यसहित कम्पनी सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
अध्यक्ष ढकालले आफ्नो कार्यकालमा डेडिकेटेड तथा ट्रंक लाइनको भुक्तानीसम्बन्धी समस्या चरम अवस्थामा पुगेको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि महासंघले अर्धन्यायिक आयोग गठनको पहल गरेको जानकारी दिनुभयो । उहाँले तथाकथित ‘लाल आयोग’ गठन भई प्रतिवेदन तयार भए पनि कार्यान्वयनमा आउन नसकेको भन्दै त्यसलाई कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया