काठमाडौं । आइडिया पिक्सेलको भगिनी संस्था आइडिया स्पोट्र्सको आयोजनामा सेलिब्रेटी क्रिकेट प्रतियोगिता ‘स्टार क्रिकेट’को दोस्रो संस्करण आयोजना हुने भएको छ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी चैत १ गते मूलपानी क्रिकेट रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने जानकारी गराइएको हो। ‘महिला डिजिटल सशक्तीकरण’ मूल नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रम कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको पहल हो।
यस वर्षको प्रतियोगिताबाट संकलित रकम सृष्टि फाउन्डेसनको ‘वुमन इन आईटी’ (डब्लुआइआइटी) अभियानलाई सहयोग गरिने आयोजकले जनाएको छ। उक्त अभियानले ग्रामीण क्षेत्रका महिलाहरूलाई सूचना प्रविधि क्षेत्रमा शिक्षित र सशक्त बनाउने लक्ष्य राखेको छ।
खेलकुदमार्फत सामाजिक परिवर्तन ल्याउने र पिछडिएका समुदायका महिलाहरूलाई डिजिटल अवसरसँग जोड्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकको भनाइ छ।
प्रतियोगिता फास्ट–पेस्ड टी–१० प्रारूपमा खेलाइनेछ। कुल आठ टोलीलाई ‘ए’ र ‘बी’ समूहमा विभाजन गरिनेछ। प्रत्येक खेल ५–५ ओभरको हुनेछ भने समूह चरणबाट उत्कृष्ट चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगितामा चर्चित कलाकार, सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व, कन्टेन्ट क्रिएटर तथा राष्ट्रिय स्तरका क्रिकेट खेलाडीहरूको सहभागिता रहनेछ।
दर्शकहरूका लागि खेलस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। मनोरञ्जनसँगै सामाजिक योगदानको उद्देश्यले आयोजित कार्यक्रमले महिला सशक्तीकरण र डिजिटल समावेशीकरणबारे जनचेतना फैलाउने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया