सुनसरी । अति संवेदनशील सूचिमा परेका मतदान स्थलहरूमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती, मोबाइल पेट्रोलिङ टोली तथा सादा पोशाकमा सुरक्षाकर्मी खटाइएको छ ।
मतदानका दिन सम्भावित भीड व्यवस्थापन, मतपेटिका सुरक्षित ढुवानी तथा आकस्मिक घटनाको तत्काल प्रतिकारका लागि ‘क्विक रेस्पोन्स टिम’ (QRT) तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । प्रत्येक अति संवेदनशील मतदान स्थलमा अतिरिक्त जनशक्ति, सञ्चार उपकरण र निगरानी संयन्त्र व्यवस्था गरिएको छ ।
सीमावर्ती नाकाहरूमा २४ सै घण्टा निगरानी, सवारी साधनको कडाइका साथ जाँच तथा आवश्यक परे अस्थायी चेकपोस्ट स्थापना गरिएको छ । निर्वाचन आचारसंहिताविपरीत गतिविधि, मतदातालाई प्रभाव पार्ने प्रयास, अवैध सामग्री ओसारपसारजस्ता कार्य रोक्न विशेष रणनीति अपनाइएको प्रशासनको भनाइ छ ।
यसैबीच, मतदातालाई निर्धक्क र निर्भीक रूपमा मतदानमा सहभागी हुन प्रशासनले आग्रह गरेको छ । कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल नजिकको सुरक्षा निकायमा जानकारी गराउन अपिल गरिएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा निकायहरू पूर्ण तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया