पश्चिमी वायु सक्रिय: उच्च हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु–तुवाँलो बढ्ने चेतावनी

121 Shares

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा का अनुसार यसकै प्रभावले देशका विभिन्न भूभागमा मौसम बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

हाल गण्डकी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ । अन्य हिमाली भूभागमा पनि बादल लागेको भए तापनि देशका बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसोको पूर्वानुमान

आज दिउँसो तराईका कतिपय स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ भने हिमाली भेगमा सामान्य बदली रहने अनुमान गरिएको छ । कोशी प्रदेश, गण्डकी र बागमती प्रदेश का उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन् । अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा र हिमपातको सम्भावना देखिएको छ । तराई क्षेत्रमा भने दिउँसोको मौसम मुख्यतया सफा रहनेछ ।

रातिको अवस्था

रातिको समयमा तराईका केही ठाउँमा तुवाँलो लाग्ने सम्भावना छ । साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा आंशिक बदली रहनेछ । कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रका थोरै स्थानमा राति पनि हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

मौसममा आएको परिवर्तनलाई ध्यानमा राख्दै उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।