रौतहट जिल्ला मा साम्प्रदायिक तनावपछि कर्फ्यु, २५० भन्दा बढी सुरक्षाकर्मी परिचालन

149 Shares

काठमाडौं । रौतहटको गौर नगरपालिका–६ सपगडा टोलमा विवाहको जन्ती बाजा बजाउँदै जाँदा फरक समुदायबीच विवाद उत्पन्न भएपछि स्थिति तनावपूर्ण बनेको छ ।

विवाद उग्र बनेपछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । घटनाको सुरुवात बिहीबार राति भएको थियो । हिन्दु समुदायको विवाह जन्ती बाजा बजाउँदै मस्जिद नजिकबाट जाँदा मुस्लिम समुदायले नमाज पढिरहेका बेला बाजा बजाउन नहुने भन्दै अवरोध गरेपछि झगडा सुरु भएको जनाइएको छ ।

यस क्रममा केही व्यक्तिहरूबीच झडप हुँदा डिजे समूहका सदस्यहरू कुटपिटमा परेका थिए । शुक्रवार बिहानदेखि दुवै पक्षबीच ढुंगामुढा भएपछि स्थिति झन् बिग्रिएको थियो । झडप नियन्त्रणमा लिन नेपाल प्रहरी ले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । घटनामा ६ जना सर्वसाधारण र दुई जना प्रहरी घाइते भएका छन् ।

प्रदर्शनकारीहरूले भारतीय नम्बर प्लेटको एक गाडी र १२ वटा मोटरसाइकल तोडफोड गरेका विष्णुप्रदीप बस्याल ले जानकारी दिएका छन् । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीसहित २५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।