काठमाडौं । नेपाल मा बालिग मताधिकारका आधारमा सम्पन्न पहिलो आमनिर्वाचनको स्मरणमा आज निर्वाचन दिवस मनाइँदै छ।
वि.सं. २०१५ साल फागुन ७ गते सुरु भई २०१६ साल वैशाख २१ गते सम्पन्न पहिलो निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको ऐतिहासिक थालनीका रूपमा लिइन्छ।
यसै अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले शुभकामना सन्देश जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान मिति आउन १४ दिन मात्र बाँकी भएको बेला निर्वाचन दिवस मनाउनु विशेष अर्थपूर्ण भएको उल्लेख गर्नुभएको छ।
भण्डारीले आवधिक निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाको अनिवार्य प्रक्रिया भएको र मताधिकारमार्फत व्यक्त हुने जनअभिमतले शासन प्रणालीलाई पुनर्ताजगी दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले “‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी निर्वाचन’” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनले असहज अवस्थालाई लोकतान्त्रिक प्रक्रियामार्फत सही मार्गमा ल्याउने आशा व्यक्त गर्नुभयो।
आयुक्त भण्डारीले राजनीतिक दल र उम्मेदवारहरूले तथ्य र तर्कको आधारमा आफूलाई प्रस्तुत गर्नुपर्नेमा जोड दिनु भएको छ। साथै, निर्वाचन प्रक्रियामा सहभागी सबै पक्षलाई कानूनबमोजिम निर्वाध रूपमा क्रियाशील रहन आह्वान गर्नु भएको छ।
उहाँले राजनीतिक दल, उम्मेदवार, निर्वाचन कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक र मतदातालाई सुरक्षित वातावरणमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सहभागी हुन सबै सरोकारवालासँग अपिल गर्नुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया