काठमाडौं । ७६औँ प्रजातन्त्र दिवस आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ।
२००७ साल फागुन ७ गते एक सय चार वर्ष लामो जहानियाँ राणा शासन अन्त्य भई मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ। सरकारी स्तरबाट काठमाडौं को टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ भने जनस्तरमा पनि विभिन्न कार्यक्रम भइरहेका छन्।
१९०३ सालको कोत पर्वपछि सुरु भएको राणा शासनको अन्त्य यही दिन भएकाले नेपालीहरूले यसलाई एकतन्त्रीय शासनबाट मुक्त भएको दिन अर्थात् मुक्ति दिवसका रूपमा पनि मनाउने गरेका छन्।
नेपालको पहिलो राजनीतिक संगठन प्रजा परिषद ले राणा शासनविरुद्ध आन्दोलन सुरु गरेको थियो। त्यसपछि नेपाली कांग्रेस को सशस्त्र विद्रोह हुँदै २००७ साल फागुन ७ गते राणा शासन अन्त्य भएको थियो।
सशस्त्र आन्दोलनका क्रममा तत्कालीन राजा त्रिभुवन दरबारबाट निस्किएर नयाँ दिल्ली पुग्नुभएको थियो। त्यसपछि दिल्ली सम्झौतामार्फत राणाहरू शासन सत्ता जनताको हातमा सुम्पिन सहमत भएका थिए।
सम्झौतापछि राजा त्रिभुवन नेपाल फर्किएर टुँडिखेल बाट राणाशासन अन्त्य भई मुलुकमा प्रजातन्त्र बहाली भएको घोषणा गर्नुभएको थियो।
यस अवसरमा नेपाल भर सार्वजनिक बिदा दिइएको छ भने विभिन्न औपचारिक तथा जनस्तरीय कार्यक्रम आयोजना भइरहेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया