प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै देशभर म्यादी प्रहरी परिचालन तीव्र

129 Shares

काठमाडौं सरकारले यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित रूपमा सम्पन्न गर्न देशभर निर्वाचन सुरक्षामा प्रहरी परिचालन तीव्र पारेको छ।

नेपाल प्रहरी ले हाल काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक केन्द्रदेखि गाउँ–गाउँका चोकसम्म म्यादी प्रहरी परिचालन गरेको छ। नीलो बर्दीमा सजिएका म्यादी प्रहरीहरू सुरक्षा ड्युटीमा सक्रिय रूपमा खटिएका देखिएका छन्।

प्रहरीले म्यादी प्रहरीलाई सुरक्षा जिम्मेवारीमा मात्र सीमित नराखी नागरिकसँगको व्यवहार, भीड नियन्त्रण तथा निर्वाचन आचारसंहिता पालनासम्बन्धी सूक्ष्म प्रशिक्षणसमेत दिइरहेको जनाएको छ। प्रत्येक क्षेत्रमा खटिएका म्यादी प्रहरीलाई सम्बन्धित क्षेत्रका प्रहरी निरीक्षक तथा हवल्दारहरूले स्थलगत रूपमा कार्य प्रकृतिबारे जानकारी गराइरहेका छन्।

यस परिचालनले सर्वसाधारणमा सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै निर्वाचन वातावरणलाई थप व्यवस्थित र मर्यादित बनाउने विश्वास गरिएको छ। म्यादी प्रहरीलाई निर्वाचनका दिन मतदान केन्द्रको सुरक्षा तथा मतदान प्रक्रियामा सहयोग पुर्‍याउने मुख्य जिम्मेवारी दिइएको छ।