काठमाडौं । नेपाली सेना ले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज देशभर विविध कार्यक्रम गरी मनाइरहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल को प्रमुख आतिथ्यमा सैनिक टुँडिखेल मा महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोह आयोजना गरिँदै छ । राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुन् । सेनाले परम्परागत रूपमा महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
नेपाली सेनाले नेपाल को स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षामा विभिन्न कालखण्डमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । वर्तमान सैनिक संरचनाको सुरुआत १८१९ सालबाट भएको मानिन्छ ।
सेनाले देशभक्ति, अनुशासन, कमान्ड प्रणाली र राजनीतिक निरपेक्ष चरित्रलाई संस्थागत संस्कारका रूपमा विकास गरेको छ । पछिल्लो समय सैनिक संगठनमा समावेशिता बढ्दै जाँदा महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ ।
संयुक्त राष्ट्रसङ्घ को शान्ति स्थापनामा नेपाली सेनाले सन् १९५८ देखि सहभागिता जनाउँदै आएको छ । हालसम्म ४४ वटा शान्ति मिसनमा १ लाख ६२ हजारभन्दा बढी नेपाली शान्ति सैनिकले योगदान दिएका छन् ।
विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति कायम गर्न ७४ नेपाली सैनिकले ज्यान गुमाएका छन् भने ७७ सैनिक घाइते भएका छन् । हाल १० वटा मिसनमा चार हजारभन्दा बढी नेपाली सैनिक परिचालित छन्, जसमा उल्लेख्य महिला सैनिक पनि छन् ।
नेपाली सेनाले विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, ऐतिहासिक सम्पदा संरक्षण, हिमाल सफाइ तथा राष्ट्रिय गौरव आयोजनामा पनि सक्रिय भूमिका खेल्दै आएको छ । काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माण कार्य सेनाकै व्यवस्थापनमा भइरहेको छ ।
यसैबीच, आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सेनाको नेतृत्वमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा रहेको जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया