काठमाडौं । महाशिवरात्रि नजिकिँदै : पशुपतिनाथ मन्दिर क्षेत्रमा साधु–सन्तको चहलपहल बढ्यो महाशिवरात्रि पर्व नजिकिँदै जाँदा काठमाडौंको पूर्वी भेगमा अवस्थित पशुपति क्षेत्रमा साधु–सन्त तथा भक्तजनहरूको चहलपहल बढ्न थालेको छ ।
महाशिवरात्रिका लागि नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ साधु, सन्त तथा नागा बाबाहरू पशुपतिनाथ क्षेत्रमा आउन थालेका छन् । पर्व नजिकिएसँगै मन्दिर परिसर तथा आसपास क्षेत्रमा अस्थायी बसोबासका लागि बाँसका संरचना निर्माण गर्ने काम समेत तीव्र बनाइएको छ ।
हिमालय क्षेत्र तथा भारतका विभिन्न अखाडाबाट आएका साधुहरू पशुपति क्षेत्रमा पूजा, आराधना तथा तपस्यामा केन्द्रित देखिएका छन् । उनीहरू विभिन्न धार्मिक परम्परा र वेशभूषासहित महाशिवरात्रि पर्व मनाउन यहाँ आइपुगेका हुन् ।
नागा तथा अघोरी साधुहरू महाशिवरात्रिको मुख्य आकर्षणका रूपमा रहने गरेका छन् । शरीरमा भष्म (खरानी) लगाउने, रुद्राक्षका माला धारण गर्ने तथा धुनी बालेर ध्यान गर्ने परम्परा उनीहरूमा रहेको छ । धार्मिक विश्वासअनुसार यसले वैराग्य, आध्यात्मिक साधना तथा जीवनको नश्वरताको सन्देश दिने मान्यता छ ।
पशुपति क्षेत्रमा अहिले साधुहरूको धुनी, धार्मिक गतिविधि तथा ‘जय शम्भो’ का नारासँगै पर्वको माहोल बढ्दै गएको छ । महाशिवरात्रिका दिन यहाँ देशभरबाट ठूलो संख्यामा भक्तजन आउने अपेक्षा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया