महाशिवरात्रि तयारी पूरा : पशुपतिनाथ क्षेत्र दुलहीझैँ सिँगारियो, सुरक्षा र ट्राफिक व्यवस्थापन कडा

154 Shares

काठमाडौं । हिन्दू धर्मावलम्बीको प्रमुख पर्व महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिर क्षेत्र यतिबेला दुलहीझैँ सिँगारिएको छ। आइतबार पर्ने शिवरात्रि पर्वलाई लक्षित गरी मन्दिर परिसरमा रङरोगन, सरसफाइ तथा बिजुली बत्तीको सजावटसहित सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोष ले जनाएको छ।

पर्वलाई लक्षित गरी छिमेकी भारत सहित देशका विभिन्न स्थानबाट साधु–सन्त तथा नागा बाबाको बाक्लो आगमन भइसकेको छ। भक्तजनको चापलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ।

दर्शनार्थीको सहज आवागमनका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले विशेष यातायात व्यवस्थापन योजना सार्वजनिक गरेको छ। ट्राफिक प्रहरीका अनुसार दर्शनार्थीको चाप नबढुन्जेल चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा सवारी साधन सामान्य रूपमा सञ्चालन हुनेछन्। भीड अत्यधिक भएमा भने वैकल्पिक मार्ग प्रयोग गरिनेछ।

विशेषगरी तिनकुने–सिनामंगल, बौद्ध–गौरीघाट तथा पुरानो बानेश्वर र मित्रपार्कबाट गौशालातर्फ आउने मालवाहक सवारीलाई आवश्यकताअनुसार रोक लगाइने बताइएको छ। साथै भीडको अवस्थाअनुसार चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर र मैतिदेवी क्षेत्रबाट गौशालातर्फ आउने सवारीलाई वैकल्पिक मार्गमा डाइभर्सन गरिनेछ।

पार्किङका लागि ६ स्थान तोकिए

दर्शनार्थी तथा पर्यटकको सहजताका लागि ६ स्थानमा पार्किङ व्यवस्था गरिएको छ :

१. सिफल चौर – दर्शनार्थी, पासवाहक तथा सुरक्षाकर्मीका सवारीका लागि
२. गुहेश्वरी पारि – तीर्थयात्री र दर्शनार्थीका सवारीका लागि
३. तिलगंगा आँखा अस्पताल तथा करिडोर – दर्शनार्थी, पर्यटक र तीर्थयात्रीका लागि
४. पशुपति विकास कोष कार्यालय (भण्डारखाल) – पासवाहक सवारीका लागि
५. वनकाली क्षेत्र – शिविर सञ्चालन गर्ने संस्था, दमकल, एम्बुलेन्स र खानेपानीका साधनका लागि
६. प्रहरी वृत्त गौशाला परिसर – सरकारी तथा पासवाहक सवारीका लागि

बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीलाई गुहेश्वरी पारि पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। ट्राफिक प्रहरीले महाशिवरात्रिका दिन पशुपति क्षेत्र भएर यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न तथा ट्राफिक नियमको पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

police-1.jpg