फागुन २१ को निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

162 Shares

काठमाडाैं । यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ ।

मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेड ले गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेल का अनुसार दैनिक १२ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ ।

उहाँका अनुसार आइतबारसम्म सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कुल २ करोड ३ लाख मतपत्र छपाइ गर्नुपर्नेमा हालसम्म १ करोड ७३ लाख मतपत्र छपाइ सम्पन्न भइसकेको छ । बाँकी करिब ३० लाख मतपत्र आइतबारसम्म छपाइ हुने जनाइएको छ ।

छपाइ सम्पन्न भएका जिल्लाका मतपत्र ढुवानी कार्य पनि सुरु भइसकेको छ । मतपत्र ढुवानी कार्य नेपाली सेना मार्फत भइरहेको बताइएको छ ।

यसैबीच, निर्वाचन आयोग नेपाल का अनुसार ५८ जिल्लाका १ सय २४ निर्वाचन क्षेत्रका मतपत्र छपाइ सम्पन्न भई ढुवानी प्रक्रिया अघि बढाइएको छ ।