टी–२० विश्वकप क्रिकेटमा मंगलबार तीन खेल हुँदै

45 Shares

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत मंगलबार तीन वटा खेल हुने भएका छन्। समूह ‘ए’ का दुई र समूह ‘डी’ को एक खेल आज हुन लागेको हो।

पहिलो खेल मंगलबार बिहान ११:१५ बजे नेदरल्यान्ड्स र नामिबियाबीच हुनेछ। प्रतियोगितामा नामिबियाले पहिलो खेल खेल्दैछ भने नेदरल्यान्ड्स पहिलो खेलमा पराजित भएको टोली हो। नेदरल्यान्ड्स पाकिस्तानसँग तीन विकेटले पराजित भएको थियो।

दोस्रो खेलमा न्युजिल्यान्डले यूएईसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ। न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टोली हो भने यूएईले प्रतियोगितामा पहिलो खेल खेल्दैछ। न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको थियो।

मंगलबारको अन्तिम खेलमा पाकिस्तान र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ। खेल साँझ ७:१५ बजे सुरु हुने तालिका छ। दोस्रो खेल खेल्न लागेका अमेरिका र पाकिस्तान दुवै जित्नुपर्ने दबाबमा रहेका छन्। अमेरिका पहिलो खेलमा भारतसँग २९ रनले पराजित भएको थियो भने पाकिस्तान नेदरल्यान्ड्सलाई तीन विकेटले हराउँदै अर्को जितको खोजीमा रहेको छ।