काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्ड नेतृत्वको टोलीले गोर्खा विग्रेडको सन् २०२५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा उक्त प्रतिवेदन हस्तान्तरण गरिएको हो ।
प्रतिवेदन प्रस्तुत गर्ने क्रममा राष्ट्रपति पौडेलले नेपाल र संयुक्त अधिराज्यबीच सदियौँदेखि कायम घनिष्ठ सम्बन्धलाई स्मरण गर्दै विकास, मानव कल्याण तथा शान्तिसँग सम्बन्धित अन्तरराष्ट्रिय मुद्दामा दुवै देशले सहकार्य गर्दै आएको बताए । उनले संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामार्फत विश्वशान्ति स्थापनामा नेपाल र बेलायतको समान प्रतिबद्धता रहेको उल्लेख गरे ।
राष्ट्रपतिले संयुक्त अधिराज्य नेपालका लागि महत्वपूर्ण विकास साझेदार भएको उल्लेख गर्दै नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा बेलायतले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले ब्रिटिश गोर्खा सैनिकहरूको साहस, अनुशासन र समर्पणले नेपाल–बेलायत सम्बन्धलाई थप मजबुत बनाएको बताए ।
उनले संयुक्त अधिराज्यमा रहेका नेपाली समुदायले दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको धारणा राखे । साथै, पूर्व ब्रिटिश गोर्खा सैनिकहरूले उठाउँदै आएका केही जायज माग र गुनासाबारे कूटनीतिक तहमा छलफल भइरहेको जानकारी दिँदै ती विषयलाई द्विपक्षीय संयन्त्रमार्फत छिट्टै समाधान गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकोमा संयुक्त अधिराज्य सरकारप्रति आभार व्यक्त गर्दै प्रतिवेदनमाथि सम्बन्धित निकायहरूले आवश्यक अध्ययन तथा विश्लेषण गर्ने बताए ।
सो अवसरमा बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डले ब्रिटिश गोर्खा सेना सधैँ अग्रपंक्तिमा रहेर सेवा गर्दै आएको उल्लेख गर्दै गोर्खा सैनिकहरूको व्यावसायिकता, इमान्दारी र साहसको उच्च प्रशंसा गरे । उनले बेलायती सेनामा आबद्ध नेपाली युवालाई आफूहरूले सधैँ नेपालका प्रतिनिधिका रूपमा सम्मान गर्ने गरेको बताए । साथै, बेलायती जनतामा गोर्खा नेपालीहरूप्रति विशेष सम्मान र विश्वास रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा नेपालस्थित बेलायती राजदूत रव फेनको पनि उपस्थिति रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । उक्त भेटले नेपाल–बेलायत सम्बन्ध, सुरक्षा सहकार्य तथा गोर्खा सैनिकसँग सम्बन्धित विषयमा थप सकारात्मक संवाद र सहकार्य अघि बढ्ने विश्वास व्यक्त गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया