काठमाडाैं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा समाचार सम्प्रेषण गर्दा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्ष नलिई निष्पक्ष रूपमा सामग्री प्रकाशन गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ।
शुक्रबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सञ्चारमाध्यम एकतर्फी वा एकपक्षीय ढङ्गले कुनै उम्मेदवारलाई प्रभाव पर्ने गरी समाचार वा विचार प्रस्तुत नगर्न आग्रह गर्नुभयो। निर्वाचनमय वातावरण बनेको र निर्वाचन प्रक्रिया अन्तिम चरणमा प्रवेश गरिरहेको सन्दर्भमा समाचार मात्र होइन, व्यक्तिगत विचार प्रस्तुत गर्दा पनि निष्पक्षता कायम गर्नुपर्ने उहाँको भनाइ थियो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीमाथि छानबिन र आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। आचारसंहिता लागू भए–नभएको र त्यसको पालना भए–नभएको विषयमा विभिन्न तह र तप्काबाट निरन्तर अनुगमन भइरहेको पनि उहाँले स्पष्ट पार्नुभयो।
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनको निगरानीलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै भण्डारीले निर्वाचनको सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढिरहेको जानकारी गराउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया