काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बन्दै जाने र हाल देखिएको अभाव क्रमशः हट्ने दाबी गरेको छ। पछिल्ला दिनहरूमा विशेषगरी काठमाडौं उपत्यकामा ग्यास नपाएको गुनासो बढिरहेका बेला निगमले बजार सामान्यतर्फ फर्किने जनाएको हो।
माघ लागेपछि जाडोका कारण ग्यास खपत बढ्दा उपत्यकामा आपूर्तिमा दबाब परेको थियो। उपभोक्ताले सिलिन्डरका लागि पालो पर्खिनुपर्ने, बिक्रेताले ‘ग्यास छैन’ भन्दै फर्काउने र डिपोहरूले समेत पर्याप्त आपूर्ति गर्न नसकेको अवस्था देखिएको थियो।
निगमका उपनिर्देशक तथा प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भारतबाट मासिक ४९ हजार ५ सय मेट्रिक टन एलपी ग्यास आयात हुँदै आएको छ र हाल देशभर रहेका ६० वटा ग्यास उद्योगमा आपूर्ति पठाइसकिएको छ। उनले अब वितरण प्रणाली सुधारिँदै जाँदा बजारमा ग्यास सहज उपलब्ध हुने बताए।
निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गर्दै कृत्रिम अभाव सिर्जना नगर्न सबै पक्षलाई सचेत गराएको छ।
यसैबीच, आगामी चुनावलाई लक्षित गर्दै थप २ हजार मेट्रिक टन ग्यास आयात गर्ने तयारी भइरहेको पनि निगमले जनाएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया