चुनीखेल नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित

152 Shares

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँबस्तीमा मंगलबार राति आगलागी हुँदा २४ परिवार विस्थापित भएका छन्।

मंगलबार राति करिब पौने ११ बजेतिर सुरू भएको आगो नियन्त्रणमा लिन करिब तीन घण्टा लागेको थियो। काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ।

आगो लागेलगत्तै सात जनाको सकुशल उद्धार गरिएको थियो। आगलागीबाट नयाँबस्तीमा रहेको लामो टहरा र त्यहाँ रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएको वडाध्यक्ष टीकानारायण श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार विस्थापित परिवारलाई अस्थायी रूपमा नजिकैका अन्य टहरामा राखिएको छ।

प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामग्री उपलब्ध गराउने तयारी भइरहेको जनाइएको छ। प्रारम्भिक अनुमान अनुसार बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ। घटनाबाट भएको क्षतिको विस्तृत विवरण आउन भने बाँकी रहेको छ।