काठमाडौं । हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण विभिन्न प्रदेशका पहाडी तथा हिमाली भू-भागमा बदली र केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
बुधबार बिहान
बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। अन्य भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
बुधबार दिउँसो
तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। यी प्रदेशका उच्च भू-भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
बुधबार राति
तराईका केही स्थानमा पुनः हुस्सु लाग्ने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसममा आउने परिवर्तनका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया