रसुवा । महाशिवरात्रि पर्व नजिकिँदै जाँदा देशभरका शिवभक्तहरू धार्मिक तयारीमा जुटिरहेका छन्। यही क्रममा रसुवा जिल्लामा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा दर्शन तथा स्नान गर्ने भक्तजनको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ।
समुद्री सतहदेखि करिब ४ हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड धार्मिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थल मानिन्छ। धार्मिक विश्वासअनुसार गोसाइँकुण्डमा भगवान् शिव स्वयं विराजमान रहनु भएको मान्यता छ। विशेषगरी महाशिवरात्रिको दिन यहाँ स्नान, पूजा र आराधना गरेमा मनोकामना पूरा हुने जनआस्था रहिआएको छ।
पौराणिक कथन अनुसार समुद्र मन्थनका क्रममा उत्पन्न भएको हलाहल (कालकूट) विष भगवान् शिवले ग्रहण गरी सम्पूर्ण सृष्टिको रक्षा गरेका थिए। विष ग्रहण गर्दा शिवको कण्ठ नीलो भएको हुँदा उनलाई ‘नीलकण्ठ’ नामले पुकारिएको मान्यता छ। हिमवत्खण्डमा समेत जीवनमा सके तीन पटक र नसके कम्तीमा एक पटक भए पनि गोसाइँकुण्डको दर्शन गर्नुपर्ने उल्लेख गरिएको छ।
गोसाइँकुण्ड पुग्न काठमाडौँबाट रसुवाको धुञ्चेसम्म सवारीसाधनमार्फत यात्रा गर्न सकिन्छ। धुञ्चेबाट तिवारीबगर, खन्ति, डिम्सा, चन्दनबारी, चोलाङपाटी हुँदै लौरीविनायक पार गरेर पैदल यात्रा गर्दै कुण्डमा पुगिन्छ। धुञ्चेपछि उकालो यात्रा सुरु हुने र लौरीविनायकभन्दा माथिल्लो क्षेत्रमा लेक लाग्ने भएकाले चन्दनबारीमा एक रात विश्राम गरी यात्रा अगाडि बढाउँदा सहज हुने होटल व्यवसायी सुब्बा लामाले बताए।
गोसाइँकुण्डमा जनैपूर्णिमा र कगंगा दशहराका अवसरमा ठूलो मेला लाग्ने गर्दछ। ती समयमा हजारौँ भक्तजन कुण्डमा स्नान गर्न पुग्ने गर्दछन्। मेला अवधिमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइने रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए।
२०७२ सालको भूकम्पपछि युवापुस्ता वर्षैभरि गोसाइँकुण्ड पुग्न थालेका छन्। यसले धार्मिक पर्यटनलाई नयाँ गति दिएको देखिन्छ। शिवरात्रिका अवसरमा नीलाद्री पर्वत पुगेर भगवान् शिवको दर्शन गर्नुपर्ने रसुवाका पुरोहित टङ्कप्रसाद ढकालले भक्तजनलाई सुझाव दिएका छन्।
यात्रुलाई सहज बनाउन नमस्ते पासाङ ल्हामु यातायात प्रालिले धुञ्चेसम्म नियमित सवारीसाधन सञ्चालन गर्दै आएको छ। साना सवारीसाधन शिवपुरी, ढिकुरे र विदुर हुँदै धुञ्चे पुग्ने गरेका छन् भने ठूला सवारीसाधन माछापोखरी–नागढुङ्गा–गल्छी–त्रिशूली मार्ग प्रयोग गरेर सञ्चालनमा छन्।
लौरीविनायकको कठिन उकालो यात्रालाई सहज बनाउन हेलिकप्टर सेवासमेत उपलब्ध गराइएको छ। नेपालमा रहेका अधिकांश हेलिकप्टर कम्पनीले शिवरात्रि तथा अन्य धार्मिक पर्वका अवसरमा धार्मिक उडान सञ्चालन गर्दै आएका छन्।
गोसाइँकुण्डको डिलमा सिम्रिक एयर कम्पनीद्वारा स्थापना गरिएको भगवान् शिवको मूर्तिले भक्तजनलाई पूजा–आराधनामा थप सहजता प्रदान गरेको छ। भक्तजनका अनुसार यहाँ स्नान तथा पूजा गरेमा रोगव्याध नाश हुने, पारिवारिक सम्बन्ध मजबुत हुने र सन्तानको शिक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास रहिआएको छ। यही कारण गोसाइँकुण्डलाई आध्यात्मिक ऊर्जा प्राप्त गर्ने केन्द्रका रूपमा समेत लिइन्छ।
हाल कुण्डको पानी जमेर बरफ बनेको अवस्था छ। बरफमाथि हिँड्दा चिप्लिएर कुण्डभित्र खस्ने जोखिम रहेकाले भक्तजनलाई विशेष सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
रामसार सूचीमा सूचीकृत गोसाइँकुण्ड क्षेत्रको संरक्षण सबैको साझा दायित्व भएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए। उनले कुण्डमाथि हिउँ खेल्ने वा हिँड्ने बहानामा भगवान् शिव विराजमान रहनु भएको स्थानमा नटेक्न आग्रह गरेका छन्।
पूर्वाधार विकाससँगै अहिले काठमाडौँको माछापोखरीदेखि धुञ्चेसम्म सिधै यातायात सञ्चालन भए पनि केही सवारीसाधनले बढी भाडा असुल्ने गुनासो आएकाले यात्रुहरू सचेत हुनुपर्ने प्रशासनले जनाएको छ।
चिसो मौसमका कारण गोसाइँकुण्ड यात्रा गर्दा तातो लुगा, कागती, अदुवा, सातु, आवश्यक औषधि लगायत सामग्री साथमा लैजान उपयुक्त हुने बताइएको छ। भक्तजनको सुविधाका लागि बागमती प्रदेश सरकारअन्तर्गत भौतिक तथा पूर्वाधार मन्त्रालयले दीर्घकालीन गुरुयोजनाअनुसार गोसाइँकुण्ड क्षेत्रको पूर्वाधार विकास अघि बढाएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।
यात्राका क्रममा कुण्डमा स्नान गर्दा भिजेको लुगा तथा फोहर जथाभावी नफ्याँक्न, पैदल मार्गमा देखिने रेडपाण्डालगायत वन्यजन्तुको संरक्षण गर्न र वनजंगलका वनस्पति नकाट्न सबै भक्तजनलाई अनुरोध गरिएको वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहले बताए।
धार्मिक आस्था, अनुपम प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचान बोकेको गोसाइँकुण्डको संरक्षण गर्दै श्रद्धापूर्वक दर्शन गर्नु नै साँचो शिवभक्ति हुने जानकारहरूको भनाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया