सबै भाषा राष्ट्रिय सम्पत्ति, लोप हुन दिनुहुँदैन : प्रधानमन्त्री कार्की

50 Shares

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने सबै भाषालाई राष्ट्रको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै तिनको संरक्षणमा सबैले जिम्मेवार भूमिका खेल्नुपर्ने बताएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भाषा आयोगले तयार पारेका दुई फरक विषयका अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले लोप हुने अवस्थामा पुगेका भाषाको जगेर्ना गर्नु आजको महत्वपूर्ण दायित्व भएको बताइन्।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर नेतृत्वको प्रतिनिधिमण्डलले मातृभाषा शिक्षासम्बन्धी प्रतिवेदन तथा अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२–२०३२) का लागि तयार पारिएको नेपालको राष्ट्रिय कार्ययोजना कार्यान्वयनसम्बन्धी प्रतिवेदन प्रधानमन्त्रीसमक्ष बुझाएको थियो।

प्रतिवेदन ग्रहणपछि प्रधानमन्त्री कार्कीले नेपालमा १२४ वटा भाषा बोलिने उल्लेख गर्दै सबै भाषा समान रूपमा महत्वपूर्ण भएको धारणा राखिन्। “यीमध्ये केही भाषा लोप हुने अवस्थामा छन्, त्यसैले कुनै पनि भाषा मर्न दिनुहुँदैन,” उनले भनिन्।

उनले भाषाको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि निरन्तर अध्ययन, अनुसन्धान र नीति निर्माण आवश्यक रहेको पनि जोड दिइन्।