एलपी ग्यास अभाव नभएको नेपाल आयल निगमको स्पष्टीकरण

41 Shares

काठमाडौं : नेपाल आयल निगमले काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यास अभाव भएको भन्ने जनगुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। तर निगमले बजारमा ग्यासको वास्तविक अभाव नरहेको र आपूर्ति व्यवस्था सामान्य अवस्थामा रहेको स्पष्ट पारेको छ।

सोमबार जारी प्रेस विज्ञप्तिमा निगमले पछिल्ला दिनमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ग्यास अभावबारे आएका समाचारप्रति स्पष्टीकरण दिँदै जाडोयामको उच्च माग धान्न पर्याप्त मात्रामा ग्यास आयात भइरहेको जानकारी दिएको हो।

निगमका अनुसार उद्योगीका लागि मासिक ४९ हजार ५ सय टन ग्यासको कोटा निर्धारण गरिएको छ। सोअनुसार सन् २०२५ नोभेम्बरमा ४७ हजार २ सय ६४ टन, डिसेम्बरमा ४८ हजार ५ सय ३१ टन र सन् २०२६ जनवरीमा ४७ हजार ३ सय ४ टन ग्यास आयात भई बिक्री वितरण गरिएको छ। निगमले यो परिमाण जाडोयामको माग पूरा गर्न पर्याप्त रहेको दाबी गरेको छ।

यद्यपि केही सीमित ग्यास उद्योगका सिलिन्डरमा सामान्य समस्या देखिएको स्वीकार गर्दै निगमले ती उद्योगलाई तत्काल आपूर्ति सहज बनाउन निर्देशन दिइसकेको जनाएको छ। व्यवस्थापकीय कारणले देखिएको समस्या छिट्टै समाधान हुने र बजारमा सबै ब्रान्डका ग्यास सहज उपलब्ध हुने विश्वास निगमले व्यक्त गरेको छ।

फेब्रुअरी महिनाका लागि निगमले थप तयारी गरेको जानकारी दिँदै नियमित कोटामा २ हजार टन ग्यास थप गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ। यसका लागि इन्डियन आयल कर्पोरेसनका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट आयात गर्न ‘बोटलर्स वाइज एलोकेसन’ पठाइसकिएको निगमले जनाएको छ।

निगमले उपभोक्तालाई कृत्रिम अभाव सिर्जना हुन नदिन अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ।