काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापार र लगानीका अवसरहरूको खोजी गर्न आह्वान गर्नुभएको छ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा सोमबार आयोजित जापानी व्यवसायीहरूसँगको अन्तरक्रियात्मक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल सरकार विदेशी लगानीकर्तालाई आवश्यक सबै प्रकारका सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न इच्छुक रहेको पनि स्पष्ट पार्नुभयो।
राष्ट्रपति पौडेलले ७० वर्षे कूटनीतिक सम्बन्धको ऐतिहासिक अवसरले दुई देशबीच पारस्परिक लाभका क्षेत्रमा थप सहकार्य विस्तार गर्ने उपयुक्त समय भएको उल्लेख गर्नुभयो। उहाँले गौतम बुद्धको दर्शनले नेपाल र जापानलाई आध्यात्मिक रूपमा जोडेको तथा दुई देशबीचको सम्बन्ध सांस्कृतिक रूपमा पनि प्राचीन रहेको धारणा व्यक्त गर्नुभयो।
नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गर्दै राष्ट्रपति पौडेलले कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो। ती क्षेत्रमा सहकार्य विस्तार भए दुवै देशले लाभ लिन सक्ने उहाँको भनाइ थियो।
उहाँले नेपाल र जापानबीच सद्भाव, मित्रता र सहयोगमा आधारित सुदृढ सम्बन्ध रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा आर्थिक सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया