प्रचण्डको भिडियो सन्देश: “म खलनायक बनेर इतिहासमा हराउन चाहन्नँ, मेरो काम अझै बाँकी छ”

165 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार नयाँ पुस्ता र राष्ट्रका नाममा जारी गरेको भिडियो सन्देशमा आफू खलनायक बनेर इतिहासको पानामा हराउन नचाहेको बताउनुभयो।

प्रचण्डले आफू नयाँ पुस्ताकै सोच बोकेर यात्रा गरिरहेको र हार नमान्ने व्यक्तित्व भएको उल्लेख गर्दै भने, “यदि म धेरै अघि बिदा भएको भए, सायद देशले मलाई नायकको रूपमा मात्र सम्झिन्थ्यो होला। तर, म खलनायक बनेर इतिहासमा हराउन चाहन्नँ। म यो देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन। मेरो काम अझै सकिएको छैन।”

उहाँले राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आवश्यक रहेकोमा जोड दिनुभयो। “यो संसदीय खेल र कुर्सीको तानातानले देशलाई पछाडि धकेल्यो, त्यसैले मेरो माग र युवाहरूको माग एउटै छ। म युवाको सोच बोकेर हिंडिरहेको यात्री हुँ,” प्रचण्डले भन्नुभयो।

सन्देशमा प्रचण्डले आफ्नो व्यक्तिगत जीवनका दुःखद अनुभव र परिवारको बलिदान पनि साझा गर्नुभयो। “म आफ्ना जेठी छोरी र जवान छोराको ज्यान गुमाएँ। जीवनसंगिनीले बीच बाटोमा साथ छोडिन्। तर, मेरो संघर्ष व्यक्तिगत होइन, यो हजारौँ शहीदहरूको सपना पूरा गर्ने यात्रा हो। परिवर्तन अनिवार्य छ र म त्यो सुनिश्चित गर्नेछु।”

प्रचण्डले नयाँ पुस्ता र डिजिटल युगका युवाहरूलाई स्वतन्त्र चिन्तन गर्न प्रेरित गर्दै भने, “म यहाँ भोट माग्न आएको होइन, म स्वतन्त्र सोचका लागि अपील गर्न आएको हुँ। प्रश्न सोध्न नछोड्नुहोस्, म जवाफ दिन तयार छु। मलाई थप दबाब दिनुहोस्, म त्यसको सामना गर्न तयार छु।”

सन्देशको अन्त्यमा प्रचण्डले सबैलाई नेपालमा युवाले आफ्नो भविष्य विदेशमा खोज्न नपरोस् भन्ने सपना साकार पार्न मिलेर काम गर्न आह्वान गर्नुभयो।