काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टिकरण सोधेको छ। आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रिय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीहरू मध्ये २१ वटा उजुरीमा सम्बन्धित पक्षसँग स्पष्टिकरण मागिएको जानकारी दिनुभयो।
प्रवक्ता भट्टराईका अनुसार २१ मध्ये १२ बाट जवाफ प्राप्त भइसकेको छ भने बाँकीको जवाफ आउन बाँकी रहेको छ। आयोगले आचारसंहिता उल्लङ्घनका घटनाको अध्ययन र विश्लेषण गर्न कार्यदल गठन गरेको छ। कार्यदलले प्राप्त जवाफको आधारमा कारबाही गर्ने वा नगर्ने सिफारिस केन्द्रिय आचारसंहिता अनुगमन समितिमा गर्नेछ। नियतवश उल्लङ्घन पुष्टि भएमा आयोगले कारबाही गर्ने व्यवस्था कानुनले सुनिश्चित गरेको छ।
उहाँले भन्नुभयो, “केन्द्रिय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीमध्ये २१ जनालाई स्पष्टिकरण सोधिएको छ। अहिले बढेर २३ पुगेको छ, तर अहिलेलाई २१ भनिएको हो। आयोग कानुन बमोजिम कारबाही गर्नेछ। कसैलाई सफाईको मौका नदिई कारबाही हुँदैन। कार्यदलले अध्ययन गरेर सिफारिस गर्छ।”
आचारसंहिता कार्यान्वयनका लागि जिल्लास्तरमा पनि अनुगमन व्यवस्था गरिएको छ। आर्थिक पक्षको अनुगमनका लागि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख, र अन्य विषयको अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, निर्वाचन आयोगले डिजिटल माध्यमबाट मिथ्या सूचना फैलाउने व्यक्तिहरूलाई कारबाहीका लागि सिफारिस गरेको छ। आयोगको निर्वाचन सूचना संप्रेषण तथा समन्वय केन्द्र (ईआईडीसी) अन्तर्गतको निगरानीबाट १२० वटा सामग्री विद्युतीय कारोबार ऐन २०६३ अनुसार नेपाल प्रहरी साइबर ब्युरोमा, ६ वटा सामग्री दूरसञ्चार प्राधिकरण ऐन २०५२ अनुसार दूरसञ्चार प्राधिकरणमा, १५ वटा सामग्री प्रेस काउन्सिल ऐन २०४८ अनुसार प्रेस काउन्सिल नेपालमा, र ३४ वटा सामग्री निर्वाचन आचारसंहिता, २०८२ अनुसार केन्द्रिय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ।
प्रवक्ता भट्टराईले आयोगको कल सेन्टरमा हालसम्म १,६७७ प्रश्न प्राप्त भएको र तीमध्ये मतदाता नामावलीसम्बन्धी ९०६, आचारसंहितासम्बन्धी १३५, मतदाता शिक्षासम्बन्धी ६१ र अन्य विषयका ५७५ प्रश्न रहेको जानकारी दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया