काठमाडौं । आगामी फागुन २१ गतेको निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद भवनमै सञ्चालन हुने भएको छ।
संसद सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार निर्वाचनपछिको संसद सञ्चालनका लागि सरकारले निर्माणाधीन संसद भवन उपलब्ध गराउने जानकारी दिइसकेको छ। आइतबार भएको छलफलमा सो भवन परिसरका १२ भवनमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराइने जानकारी सरकारबाट आएको उहाँले बताउनुभयो।
प्रतिनिधिसभा गठन भएपछि राष्ट्रिय सभाको बैठक पनि सोही निर्माणाधीन संसद भवनबाट सञ्चालन गरिनेछ। प्रवक्ता गिरीका अनुसार भवनको करिब ९० प्रतिशत भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ भने बाँकी काम चैत महिनासम्म सम्पन्न गर्ने गरी सरकारसँग निरन्तर छलफल भइरहेको छ।
उहाँले निर्वाचनपछि बस्ने संसद बैठक सञ्चालनका लागि सचिवालयले अन्य कुनै वैकल्पिक स्थान नहेरेको स्पष्ट पार्नुभयो। अत्याधुनिक प्रविधिसहित संसद सञ्चालनका लागि आवश्यक तयारी अघि बढाइएको पनि उहाँको भनाइ छ।
गिरीले भन्नुभयो, “निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाको बैठक कहाँ बस्छ भन्ने विषयमा चासो बढेको छ। पछिल्लो छलफलअनुसार सरकारले निर्माणाधीन संसद भवनका १२ मध्ये ६ भवन तत्काल उपलब्ध गराउने जानकारी दिएको छ। अब प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक सोही स्थानमा सञ्चालन हुनेछ। ९० प्रतिशत भौतिक पूर्वाधार तयार भइसकेको छ र चैतको पहिलो हप्तासम्म बाँकी काम पूरा गरेर सचिवालयलाई हस्तान्तरण गर्ने छलफल भएको छ। त्यसैले वैकल्पिक व्यवस्थाबारे सोचिएको छैन।”
यसअघि संसद बैठक बस्दै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त बनेको थियो। सो भवनको पुनर्निर्माण कार्य हालसम्म सुरु भएको छैन। हाल राष्ट्रिय सभाको १९औँ अधिवेशन सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन भइरहेको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया