निर्वाचन तयारी तीव्र: समानुपातिक मतपत्र छपाइ सम्पन्न, प्रत्यक्षतर्फ धमाधम

151 Shares

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली र मतपत्र छपाइको कामलाई तीव्र बनाएको जनाएको छ। आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्धारित कार्यतालिकाअनुसार काम अघि बढिरहेको जानकारी दिनुभयो।

प्रवक्ता भट्टराईका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ आवश्यक २ करोड ८ लाख ३० हजार मतपत्रको छपाइ कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ। यता प्रत्यक्षतर्फको मतपत्र छपाइ भने गत हप्तादेखि सुरु गरिएको हो।

हालसम्म प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिसकिएको छ। अब करिब २ करोड मतपत्रमध्ये १ करोड ७० लाख मतपत्र छपाइ गर्न बाँकी रहेको आयोगले जनाएको छ। दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको र यही गतिमा काम हुँदा लक्ष्य समयमै पूरा हुने आयोगको विश्वास छ।

मतदाता नामावली छपाइको काम पनि प्राथमिकतामा राखिएको र सम्भवत: आगामी हप्ताभित्रै सम्पन्न हुने प्रवक्ता भट्टराईले बताउनुभयो।

उहाँले भन्नुभयो, “हामी यो हप्ता मतपत्र र मतदाता नामावली छपाइलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। कार्यतालिका भित्रै रहेर सबै काम पूरा गर्ने लक्ष्य छ।”

निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले आवश्यक सबै प्राविधिक तथा व्यवस्थापकीय तयारीलाई तीव्रता दिएको जनाएको छ।