अन्तर्राष्ट्रिय अव्यवस्थाको गम्भीर प्रभावमा नेपाल : डा. राजन भट्टराई

147 Shares

काठमाडौं । नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले नेपाल अहिले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा पर्दै गएको टिप्पणी गरेका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विश्वव्यापी अस्थिरता र अव्यवस्था (इन्टरनेशनल डिसअर्डर) का कारण नेपालमा राजनीतिक तथा अन्य क्षेत्रमा असर देखिन थालेको बताए। उनले यो प्रभाव आगामी दिनमा झन् गम्भीर बन्दै जाने चेतावनी दिए।

‘हामी एउटा अत्यन्त फरक खालको अन्तर्राष्ट्रिय परिस्थितिमा परेका छौं। यसको असर हामीकहाँ कति पर्छ भन्नेबारे यहाँ बहस भइरहेको छ। तर असर पर्न थालिसकेको छ। प्रभावको तानातानको बीचमा हामी पर्दैछौं,’ भट्टराईले भने।

ठूला राजनीतिक दलहरू समस्या परेपछि विदेशी हस्तक्षेप वा षड्यन्त्र देख्ने प्रवृत्तिलाई सामान्यीकरण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले त्यो दृष्टिकोण पूर्णतः सही नभएको बताए। अहिलेको विश्व व्यवस्थामा तीव्र परिवर्तन र अस्थिरता देखिएको भन्दै त्यसको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव नेपालमा पर्न थालेको उनको भनाइ थियो।

‘अहिले न्यारेटिभ बनाइन्छ—ठूला पार्टीहरू अफ्ठ्यारो परेपछि विदेशी हस्तक्षेप देख्छन्, षड्यन्त्र देख्छन् भनेर। तर त्यो पूर्ण सत्य होइन। आजको ग्लोबल परिवेशमा जुन ढंगले अन्तर्राष्ट्रिय अव्यवस्था भत्किँदै गएको छ, त्यसको प्रभाव हामीमा पर्दै गएको छ,’ उनले भने, ‘यसलाई हामीले हेलचेक्र्याइँ गर्‍यौं भने छिट्टै नै यसको परिणाम देखिन्छ। यसभित्र विभाजन सुरु भइसकेको छ।’