रास्वपाले फागुन पहिलो साता घोषणापत्र ल्याउने

138 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

पार्टीकी कोषाध्यक्ष लिमा अधिकारीले जनताका एजेन्डा समेटेर घोषणापत्र तयार भइरहेको जानकारी दिँदै फागुन पहिलो साता सार्वजनिक गर्ने लक्ष्य रहेको बताइन्। पार्टीका उपसभापति तथा घोषणापत्र मस्यौदा समितिका संयोजक डा. स्वर्णिम वाग्लेले पनि सोही अवधिमा चुनावी वाचा–पत्र सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरे।

उनका अनुसार घोषणापत्र पाँच वर्षमा केन्द्रित हुने पाँच प्रमुख क्षेत्रमा आधारित हुनेछ। जेनजी (Gen Z) का मुद्दा समेट्ने र सुशासनलाई मुख्य प्राथमिकता बनाइने उनले बताए।

अधिकारीले भ्रष्टाचार अन्त्य, आर्थिक सुधार र सुशासनलाई मुख्य एजेन्डा बनाइएको बताउँदै सरकारमा गएको पहिलो १०० दिनभित्र १०० प्रमुख काम गर्ने लक्ष्यसहित नीतिगत सुधारका स्पष्ट खाका प्रस्तुत गरिने जानकारी दिइन्।

रास्वपाप्रति जनताले देखाएको विश्वास जोगाइराख्न पार्टीले प्रभावकारी र नतिजामुखी काम गर्नुपर्ने अवस्था रहेको पनि उनले बताइन्।