काँग्रेसलाई जिताउनु लोकतन्त्रको रक्षाका लागि आवश्यक : डा. सुनिल शर्मा

156 Shares

काठमाडाैं । नेपाली काँग्रेसका नेता तथा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले लोकतन्त्रको रक्षा गर्न नेपाली काँग्रेसलाई जिताउनुको विकल्प नभएको बताएका छन्।

निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा बोल्दै उनले अहिले बोल्न र आफूलाई मन नपरेका विषयमा प्रतिवाद गर्न पाउने अधिकार काँग्रेसलगायत पुराना राजनीतिक दलहरूको संघर्षबाट प्राप्त भएको स्मरण गराए।

उनले लोकतन्त्र जोगाउन काँग्रेसप्रति विश्वास गर्न आवश्यक रहेको उल्लेख गर्दै पार्टी आफूलाई परिवर्तन गर्दै देशको अवस्था बदल्ने लक्ष्यसहित निर्वाचनमा होमिएको दाबी गरे। नयाँ सोच, बदलिएर आएको एजेण्डा र प्रतिबद्धतासहित काँग्रेस जनतामाझ आएको भन्दै उनले सम्पूर्ण मतदाताले विश्वास गर्नुपर्ने धारणा व्यक्त गरे।

डा. शर्माले नागरिकहरू भ्रममा परे देशकै दुर्भाग्य हुने चेतावनी दिँदै बदलिएर आएको काँग्रेसले नै देश परिवर्तन गर्न सक्ने बताए। मोरङ–३ बाट आफू अत्यधिक मतसहित विजयी हुनेमा आफू विश्वस्त रहेको पनि उनले उल्लेख गरे।