कांग्रेस चुनावी मैदानमा, तर देउवाको छायाँ अझै भारी

131 Shares

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस संगठनात्मक रूपमा सक्रिय देखिए पनि पार्टीभित्रको मनोवैज्ञानिक विभाजन अझै हट्न सकेको छैन। यसको केन्द्रमा छन्—पाँच पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा, जो चुनावी गतिविधिबाट टाढा रहेर मौन बसेका छन्। देउवाको यही मौनता अहिले कांग्रेसको सबैभन्दा चर्चित र संवेदनशील राजनीतिक संकेत बनेको छ।

विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति बनेपछि कांग्रेसभित्र पुस्तान्तरणको औपचारिक प्रक्रिया सुरु भएको देखिन्छ। तर, यो परिवर्तन सहज नभएको देउवाको भूमिकाबाट प्रष्ट हुन्छ। निर्वाचन आयोगले नयाँ केन्द्रीय कार्यसमितिलाई वैधानिकता दिएसँगै देउवाको राजनीतिक हैसियत औपचारिक रूपमा समाप्त भए पनि प्रभाव भने पूर्ण रूपमा सकिएको छैन।

सहिद दिवसजस्तो राष्ट्रिय स्मरणको दिनमा समेत देउवाबाट कुनै प्रतिक्रिया नआउनुले उनको असन्तुष्टिलाई थप गहिरो बनाएको छ। न बधाई सन्देश, न सार्वजनिक टिप्पणी, न चुनावी कार्यक्रम—देउवा पूर्ण रूपमा ‘लो प्रोफाइल’मा छन्। तर कांग्रेस वृत्तमा यस मौनतालाई रणनीतिक मौनता कि राजनीतिक निराशा भन्ने विषयमा बहस चलिरहेको छ।

५ माघको रात कांग्रेस राजनीतिमा निर्णायक मोडका रूपमा हेरिएको छ। अदालतमा नयाँ नेतृत्वको वैधताविरुद्ध मुद्दा दायर गर्दै देउवा अन्तिम समयसम्म टिकटको प्रतीक्षामा थिए। डडेलधुराबाट सर्वसम्मत सिफारिस भए पनि नयाँ नेतृत्वले उनलाई उम्मेदवार नबनाउने निर्णय गरेपछि देउवा पहिलो पटक संसदीय प्रतिस्पर्धाबाट बाहिरिएका हुन्।

टिकट नपाएपछि देउवाले उम्मेदवारी नदिने घोषणा गरे पनि उनको असन्तुष्टि व्यवहारमा देखिएको छ। यद्यपि, देउवा पक्षका करिब तीन दर्जन नेताले टिकट पाएपछि औपचारिक विद्रोहको अवस्था भने बनेको छैन। तर, समर्थक तहमा भने मनोबल खस्किएको कांग्रेस नेताहरू स्वीकार्छन्।

डडेलधुरामा राजनीतिक रिक्तता

२०४८ सालदेखि निरन्तर देउवालाई जिताउँदै आएको डडेलधुरा अहिले भावनात्मक अन्योलमा छ। स्थानीय मतदाताका लागि देउवा केवल नेता होइन, राजनीतिक पहिचान नै बनेका थिए। उनका ठाउँमा उम्मेदवार बनेका नैनसिंह महरको स्वीकारोक्ति पनि यही छ कि देउवाको अनुपस्थिति मतदातामा खट्किरहेको छ।

यता, निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतमा विचाराधीन छ। अन्तरिम आदेश नआए पनि सुनुवाइ प्राथमिकताका साथ अघि बढेकाले देउवा अझै न्यायिक प्रक्रियाबाट आफ्नो पक्षमा निर्णय आउने अपेक्षामा छन्। यही आशाले उनले अहिले प्रत्यक्ष राजनीतिक हस्तक्षेप नगरेको बुझाइ छ।

थापाको नेतृत्व परीक्षा

कांग्रेस सभापति गगन थापाका लागि यो निर्वाचन नेतृत्व क्षमताको पहिलो ठूलाे परीक्षा हो। एकातर्फ पार्टीलाई एकताबद्ध देखाउने दबाब, अर्कोतर्फ पुरानो संस्थापनलाई विश्वासमा लिने चुनौती उनीसामु छ। थापाले सार्वजनिक मञ्चबाट देउवासँग संवाद भइरहेको बताउँदै आएका छन् भने अन्तर्घात भए कडा कारबाहीको चेतावनी पनि दिएका छन्।

तर, व्यवहारिक तहमा पदीय मर्यादा, मञ्च व्यवस्थापन र २३ भदौको ‘जेनजी विद्रोह’लाई बुझ्ने दृष्टिकोणमा फरक कायमै छ। यही कारण कतिपय चुनावी कार्यक्रममा असहजता देखिएको कांग्रेसभित्रकै नेताहरू बताउँछन्।

चुनावी प्रचारमा कांग्रेस अघि बढ्दै छ, तर देउवाको मौनता र अदालतको फैसला पार्टीको भावी समीकरण निर्धारण गर्ने निर्णायक कारक बन्न सक्ने विश्लेषण सुरु भएको छ।