काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुका प्रतिनिधिसभा सदस्यका उम्मेदवार असिम राईले काठमाडौं–सोलुखुम्बु जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन्। उक्त द्रुतमार्ग निर्माणका लागि संसदमा पुगेपछि सशक्त आवाज उठाउने र निरन्तर संघर्ष गर्ने प्रतिबद्धता उनले जनाएका छन्।
सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा बोल्दै राईले काठमाडौं–खुम्बु द्रुतमार्ग निर्माण भए सोलुखुम्बु मात्र नभई सिंगो देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने दाबी गरे। उनका अनुसार हालको कठिन यात्रा व्यवस्थाका कारण सम्भावित पर्यटक आगमन सीमित भइरहेको छ।
“यदि काठमाडौंबाट खुम्बुसम्म छिटो मार्ग निर्माण भयो भने एकै सिजनमा १५ लाख होइन, ५० लाखसम्म पर्यटक नेपाल भित्रिन सक्छन्,” उनले भने, “यसले सोलुखुम्बुको मात्र भविष्य बदल्दैन, देशकै अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउँछ।”
राईले आफू निर्वाचित भएर प्रतिनिधिसभामा पुगेपछि जिल्लाका जनताको “शिर उँचो हुने” गरी आफ्नो विधायिकाको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। सोलुखुम्बुमा विकास निर्माणका धेरै योजना अधुरा रहेको उल्लेख गर्दै उनले बाँकी कामलाई प्राथमिकतामा राख्ने बताए।
उनले सोलुखुम्बुलाई राज्यले न्यायोचित दृष्टिले नहेरेको आरोप पनि लगाए। सगरमाथा क्षेत्रबाट उठ्ने रोयल्टी राज्यले लिने गरे पनि हिमाल संरक्षण र स्थानीय पूर्वाधार विकासमा पर्याप्त लगानी नगरेको उनको भनाइ थियो।
“हामी सगरमाथाको देश भनेर चिनिन्छौँ, तर सगरमाथा रहेको जिल्लालाई हेर्ने राज्यको दृष्टिकोण न्यायपूर्ण छैन,” उनले भने, “रोयल्टी उठाइन्छ, तर हिमाल जोगाउने र स्थानीय विकासका काममा ध्यान दिइँदैन। सगरमाथा जोगियो भने देश र विश्व दुवै जोगिन्छ।”
राईले सोलुखुम्बुको ऐतिहासिक तथा अन्तर्राष्ट्रिय महत्व उल्लेख गर्दै पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए।
त्यसैगरी उनले भारतीय पर्यटक सोलुखुम्बु भित्र्याउने उद्देश्यले चतरादेखि खुम्बुसम्म जोड्ने दुधकोशी करिडोर निर्माणका लागि पनि पहल गर्ने बताए। जिल्लाका सबै वडालाई सदरमुकामसँग सडक सञ्जालमार्फत जोड्ने, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार ल्याउने र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता थियो।
राईका यी घोषणाले सोलुखुम्बुमा पूर्वाधार विकास, पर्यटन विस्तार र स्थानीय समृद्धिका विषय चुनावी बहसको केन्द्रमा ल्याउने देखिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया