एजेन्सी। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्र अन्तर्गत सन् २०२६ को क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सम्मेलन काठमाडौंमा हुने जानकारी दिएको हो।
क्यानका अनुसार सम्मेलन आगामी बैशाख ३ र ४ गते काठमाडौंमा आयोजना हुनेछ। उक्त सम्मेलनमा आईसीसी एसिया क्षेत्रका सदस्य देशहरूका प्रमुख पदाधिकारी, प्रशासक तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ।
सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको समग्र विकासका लागि रणनीतिक प्राथमिकता, विभिन्न विकास कार्यक्रम, शासन (गभर्नेन्स) सम्बन्धी विषयहरू, तथा आगामी अन्तर्राष्ट्रिय क्यालेन्डर सम्बन्धी छलफल हुने जनाइएको छ।
विशेषगरी नेपालजस्ता एसोसिएट राष्ट्रहरूले भोगिरहेका संरचनागत चुनौतीहरू र ती राष्ट्रहरूलाई क्रमशः ‘टेस्ट’ राष्ट्रको स्तरतर्फ कसरी अघि बढाउने भन्ने विषय सम्मेलनको प्राथमिक एजेन्डामा रहने क्यानले उल्लेख गरेको छ।
यस सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट प्रशासनिक मञ्चमा थप सक्रिय उपस्थिति जनाउने अवसर मिल्ने विश्वास गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया