निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पाँच उम्मेदवारसँग स्पष्टीकरण माग

175 Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारसँग निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा स्पष्टीकरण सोधेको छ। आयोगमा परेको उजुरीका आधारमा उनीहरूलाई लिखित जवाफ दिन भनिएको हो।

स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा झापा क्षेत्र नम्बर ५ का बालेन्द्र शाह (बालेन), सुनसरी क्षेत्र नम्बर १ का हर्क साम्पाङ, रुपन्देही क्षेत्र नम्बर २ का कमल भुसाल (निकोलस), भक्तपुर क्षेत्र नम्बर २ का महेश बस्नेत र सोही क्षेत्रकी जानुका पाठक रहेका छन्।

आयोगका अनुसार बालेन्द्र शाहसँग अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको स्टाटसमा गरेको टिप्पणीबारे स्पष्टीकरण मागिएको हो।

यस्तै, कमल भुसालले ‘जेनजी आन्दोलनको आइकोनिक जुत्ता’लाई चुनाव चिन्हका रूपमा प्रचार गरेको विषयमा स्पष्टिकरण दिनुपर्ने भएको छ।

हर्क साम्पाङमाथि चुनावी प्रचारका क्रममा बालबालिकालाई प्रयोग गरेको तथा उनीहरूलाई प्रचार सामग्रीसहित टी–सर्ट लगाउन लगाएको आरोप लागेको छ।

महेश बस्नेतसँग भने बालेन्द्र शाहलाई लक्षित गर्दै अपमानजनक शब्द प्रयोग गरेको विषयमा स्पष्टीकरण मागिएको आयोगले जनाएको छ।

त्यस्तै, जानुका पाठकमाथि पनि अर्का उम्मेदवारविरुद्ध घृणाजन्य अभिव्यक्ति दिएको उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो।

यसैबीच, स्वास्थ्य स्वयंसेवक संघसँग पनि निर्वाचन आचारसंहिता लागू भइसकेपछि अनुमति नलिई अधिवेशन गरेको विषयमा आयोगले स्पष्टीकरण मागेको जनाएको छ।

आयोगले सम्बन्धित सबै पक्षलाई तोकिएको समयभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ।