काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा कुनै पनि प्रकारको कमी–कमजोरी नगरी उच्च सतर्कताका साथ खटिन निर्देशन दिनुभएको छ।
सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा माघ ११ गतेदेखि विभिन्न कार्यालयको नेतृत्व सम्हाल्न लागेका अधिकृतहरूलाई निर्देशन दिँदै महानिरीक्षक अर्यालले निर्वाचन लक्षित सुरक्षा कारबाहीलाई तीव्र रूपमा कार्यान्वयन गरी भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आग्रह गर्नुभयो।
उहाँले कमजोर कमान्ड, लापरवाही वा गल्ती गर्ने कमान्डरमाथि तत्काल कारबाही गरिने स्पष्ट पार्दै सबै कर्मचारीलाई उच्च मनोबलका साथ व्यावसायिक ढंगले काम गर्न निर्देशन दिनुभयो। पदीय जिम्मेवारीमा खटिँदा बदमासी वा अनुशासनहीनता देखिए कडाइका साथ कारबाही हुने चेतावनी पनि उहाँले दिनुभयो।
महानिरीक्षक अर्यालले निर्वाचन सफल बनाउन मातहतका सबै कर्मचारीलाई निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्दै परिचालित हुन निर्देशन दिँदै संगठनको सोच र नीतिअनुसार आ–आफ्नो जिम्मेवारीमा थप सक्रिय हुन आग्रह गर्नुभयो।
त्यसैगरी, राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै उहाँले आर्थिक पारदर्शिता कायम गरी भ्रष्टाचारप्रति शून्य सहनशीलताका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो। सीमामा खटिएका इकाइहरूलाई अझ सक्रिय भई गस्ती, पेट्रोलिङ तथा अन्य अपरेशनल गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न पनि निर्देशन दिइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया