काठमाडौँ । २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) का अवसरमा सञ्चालन गरिएको पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक, स्वयम्भुमा माघ १२ गते आयोजित समापन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यक्रम समापन गर्नुभएको हो।
समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले सीमामा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूको त्याग र समर्पणको प्रशंसा गर्दै राष्ट्रिय सार्वभौमिकता, सीमा सुरक्षा तथा अपराध नियन्त्रणमा यस्ता अभियानले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। भौगोलिक रूपमा चुनौतीपूर्ण सीमा सुरक्षालाई सुदृढ र प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको चर्चा गर्दै उहाँले झण्डा मार्चले सीमा सुरक्षित रहेको सन्देश प्रवाह गरेको बताउनुभयो।
समापन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेल र नं. ४ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहले महानिरीक्षक अर्याललाई झण्डा हस्तान्तरण गर्नुभएको थियो। उक्त झण्डा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित केन्द्रीय सङ्ग्रहालयमा राखिने जनाइएको छ।
पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम पौष २० गते झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेची पुल तथा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकी सीमा क्षेत्रबाट एकसाथ सुरु गरिएको थियो। राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बलको झण्डासहितको टोलीले एक जिल्लाबाट अर्को जिल्लामा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई झण्डा हस्तान्तरण गर्दै यात्रा अगाडि बढाएको थियो।
सशस्त्र प्रहरी बलले सीमा सुरक्षाप्रति आफ्नो प्रतिबद्धता, सतर्कता र उपस्थितिलाई सशक्त रूपमा प्रदर्शन गर्न, संगठनभित्र समन्वय र टोली भावना सुदृढ बनाउन तथा सीमावर्ती क्षेत्रका नागरिक, स्थानीय तह र सरोकारवाला निकायसँग विश्वास र सहकार्य अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरेको जनाएको छ।
२५औँ वर्षको ऐतिहासिक अवसरलाई स्मरणीय बनाउँदै देशव्यापी सन्देश प्रवाह गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको झण्डा मार्चले सशस्त्र प्रहरी बलको इतिहास, योगदान र सीमा सुरक्षामा यसको भूमिकालाई उजागर गरेको विश्वास गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया