लामिछानेविरुद्ध मुद्दामा थप प्रमाण पेश गर्न सर्वोच्चको आदेश

166 Shares

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर ‘सम्पत्ति शुद्धीकरण’ र ‘संगठित अपराध’ सम्बन्धी मुद्दामा फेला परेको भनिएका थप प्रमाण तथा कागजात पेश गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयलाई मुद्दा संशोधन गर्नुपर्ने आधारसम्बन्धी प्रमाण पेश गर्न निर्देशन दिएको हो।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अभियोगपत्र दायर भइसकेपछि थप प्रमाण फेला परेको उल्लेख गर्दै मुद्दा संशोधन प्रक्रियामा लैजान सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएकी थिइन्।

सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सिन्धुलीका युवराज पौडेल तथा कानुनका विद्यार्थी आयुष बडाललगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालयबाट थप कागजात तथा प्रमाण प्राप्त भएपछि मात्र अन्तरिम आदेशबारे छलफल गरिने पनि आदेशमा उल्लेख गरेको छ।

लामिछानेविरुद्ध काठमाडौं, पर्सा, रुपन्देही र कास्की जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा विचाराधीन छन्।