काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा पार्टीका उम्मेदवारहरूसँग रणनीतिक छलफल गरेका छन्।
आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएपछि उनले आइतबार उपत्यकाभित्रका पार्टी उम्मेदवारहरूसँग भेट गर्दै चुनावी अभियानको प्रगति र रणनीतिबारे जानकारी लिएका हुन्। भेटमा सहभागी नेताहरूका अनुसार साहले उम्मेदवारहरूबाट चुनावी गतिविधिबारे ब्रिफिङ लिएका थिए।
ललितपुर–३ की उम्मेदवार तोषिमा कार्कीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै साहले चुनावी अभियानबारे जानकारी लिनुका साथै रणनीतिक पक्षमा समेत छलफल गरेको बताइन्। उनका अनुसार साहले उम्मेदवारहरूलाई ढुक्क भएर जनताको घरदैलोमा पुग्न, समस्या सुन्न र समाधानका एजेन्डासहित अघि बढ्न आग्रह गरेका छन्।
रास्वपाकी नेतृ रञ्जु दर्शनाले पनि भेटमा चुनावी रणनीतिका विषयमा छलफल भएको जानकारी दिइन्। उनले उम्मेदवारहरूलाई आत्मविश्वासका साथ अभियान अघि बढाउन निर्देशन दिइएको बताइन्।
त्यस्तै, काठमाडौं–३ का उम्मेदवार राजुनाथ पाण्डेले आफ्नो क्षेत्रमा भइरहेको गतिविधिबारे जानकारी गराउन साहसँग भेट भएको बताए। उनले आफूहरू सौहार्द्रपूर्ण वातावरणमा घरदैलो अभियान सञ्चालन गरिरहेको र मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको दाबी गरे।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेता साह झापा–५ बाट उम्मेदवार रहेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया