नक्कली हतियारसहित दुई जना काठमाडौंमा पक्राउ

152 Shares

काठमाडौँ — प्रहरीले नक्कली हतियारसहित दुई जनालाई काठमाडौं महानगरपालिका–३२, कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको छ।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले झापा घर भएका २८ वर्षीय किरण घिमिरे र अछाम घर भएका कुमार लोहारलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट .३०३ राइफल जस्तो देखिने एक डमी, कटुवा पेस्तोल जस्तो देखिने दुई डमी हतियार, खुकुरी जस्तो फलामबाट बनेको एक हतियार, र एउटा मोटरसाइकल बरामद गरिएको छ।

घटनाबारे अनुसन्धानका क्रममा प्रहरीले सिसिटिभी फुटेजको आधारमा बागमती प्रदेश ०२–०१२ प ५८५२ नम्बरको मोटरसाइकल किरण घिमिरेको रहेको पत्ता लगाएको थियो। उनलाई नियन्त्रणमा लिएपछि काठमाडौं–३२ स्थित सांस्कृतिक नृत्य कला केन्द्र परिसरमा नक्कली हतियार लुकाएर राखिएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।