प्रधानमन्त्री कार्कीले युवा विद्यार्थीलाई स्वदेशमै अवसर पहिचान गर्न आह्वान गरे

174 Shares

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसर पहिचान गरी देश निर्माणमा योगदान दिन युवा विद्यार्थीहरूलाई आह्वान गरेकी छन्।

आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सम्बोधन गर्दै उनले विद्यार्थीहरूलाई मुलुकबाट भाग्ने नभई चुनौती र समस्यासँग डटेर सामना गर्नुपर्नेमा जोड दिइन्। प्रधानमन्त्री कार्कीले अवसर नभएका क्षेत्रमा नयाँ अवसर सिर्जना गरी नेपालले गर्व गर्ने नागरिक बन्न आग्रह गरेकी छन्।

समारोहमा प्रधानमन्त्री कार्कीले विश्वविद्यालयका विज्ञान, स्वास्थ्य तथा प्रविधि, सामाजिक शास्त्र तथा शिक्षा, व्यवस्थापन तथा कानुन संकायका ५४५ उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरिन्। तीमध्ये समारोहमा १९१ विद्यार्थीको उपस्थिती थियो।

साथै, उनले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई कुलपति पदकसमेत वितरण गरिन्।