‘नयाँ दल चाहिन्छ’ भन्ने नारा भुलभुलैया मात्र : नेत्रविक्रम चन्द

156 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले ‘पुराना दल गलत, नयाँ दल चाहिन्छ’ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको बताएका छन्।

शनिबार आयोजित पार्टीको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पछिल्लो समय राजनीतिक वृत्तमा चलेको नयाँ–पुराना दलको बहसले वास्तविक समस्याबाट ध्यान हटाउने काम गरिरहेको दाबी गरे। उनका अनुसार नेपालमा समस्या दलको नभई जनताले चाहेको सेवा गर्ने राज्यसत्ताको हो।

“जनताले चाहेको आफ्नो सेवा गर्ने, आफ्ना पक्षमा निर्णय गर्ने र न्यायपूर्ण ढंगले फैसला गर्ने सत्ता हो,” उनले भने, “दृष्टिकोण कस्तो छ भन्ने कुरासँग यो सम्बन्धित छ, नयाँ र पुराना दलको बहससँग होइन।”

महासचिव चन्दले पुराना दलहरूले भ्रष्टाचार र विकृति बढाएको विषय एक हदसम्म सही भए पनि नयाँ दल आएपछि मात्रै अवस्था स्वतः सुध्रिन्छ भन्ने धारणा गलत भएको बताए। “पुरानो सत्ता यथावत रहेसम्म नयाँ दल आएर मात्रै समस्या समाधान हुँदैन,” उनले भने।

उनका अनुसार अहिलेको मुख्य राजनीतिक संघर्ष पुराना र नयाँ दलबीच नभई पुरानो सत्ता संरचना र जनताबीचको संघर्ष हो। नयाँ अनुहार वा कम उमेरका नेता आएपछि मात्र सबै समस्या समाधान हुन्छ भन्ने सोच पनि भ्रमपूर्ण भएको उनले बताए।

“२५–३० वर्ष वा ४०–४५ वर्षको नयाँ अनुहार आयो भन्दैमा सबै ठीक भइहाल्छ भन्ने कुरा सत्य होइन,” उनले भने, “मान्छे उमेरले पुरानो हुनसक्छ, तर उसले बोकेको दृष्टिकोण के हो भन्ने कुरा निर्णायक हुन्छ।”

चन्दले पुरानो सत्ता संरचना र चरित्र बदल्न सक्ने स्पष्ट दृष्टिकोण भएका नेताको आवश्यकता औँल्याए। नयाँ भनेर आएका दलहरूबाट त्यस्तो परिवर्तनकारी दृष्टिकोण नदेखिएको उनको दाबी थियो।

उनले पुरानो सत्तालाई बदलेर जनताको सत्ता निर्माण गर्न सक्ने शक्ति आफ्नो पार्टी मात्रै भएको उल्लेख गर्दै कार्यकर्तालाई जनतालाई यो कुरा बुझाउन निर्देशनसमेत दिएका छन्।