नयाँ दलहरूको भोलि कता जाने थाहा छैन : ओली

164 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूको भविष्य अनिश्चित रहेको टिप्पणी गरेका छन्। शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

ओलीले प्रसिद्ध गायक नारायणगोपालको गीत स्मरण गर्दै नयाँ दलहरूको राजनीतिक यात्रामाथि व्यंग्य गरे। “सायद नारायणगोपालले गाउनुभएको होला, ‘भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्कि आउने हो कि होइन केही थाहा छैन,’” उनले भने, “उहाँहरू (नयाँ दल) को यात्रा त्यस्तै हो, भोलि कहाँ जाने त्यो पनि थाहा छैन।”

उनले नयाँ भनिएका दलका एक नेताको सामाजिक सञ्जालमा लेखिएको स्टाटस आफूले देखेको उल्लेख गर्दै आपत्ति जनाए। उक्त स्टाटसमा आफूलाई ‘माटोमुनी गाडिदिने’ जस्ता अभिव्यक्ति प्रयोग गरिएको भन्दै उनले त्यसलाई असभ्य राजनीतिक संस्कारको उदाहरण बताए।

“एउटा स्टाटस हेरेको थिएँ मैले, अहिलेका नयाँहरूले लेखेछन्—केपी ओली महत्त्वपूर्ण हुनुहुन्छ, त्यसकारण उहाँलाई माटोमुनी गाडिदिनुपर्छ। कस्तो मति, कस्तो बुद्धि, कस्तो राजनीति—हामी विचार गर्न सक्छौं,” ओलीले भने।

देश अहिले बनाउने र बिगार्ने शक्तिबीचको संघर्षमा रहेको उनको भनाइ थियो। “कस्तो पवित्र भावना हेर्नुस् त—मान्छे जिउँदै गाडिदिने। त्यसकारण देश जलाउने र बनाउनेकाबीचको लडाइँ छ अहिले। हामी देश बनाउने काममा जुट्नुपर्छ,” उनले भने।