काठमाडौं । नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ तर्फ उनी जान लागेका हुन्।
शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा थापाले आफू जिल्ला जान लागेको जानकारी दिएका थिए। “भोलि म सर्लाही जाँदैछु। पटक–पटक म गएको छु, क्षेत्र नम्बर ४ मा। तर, पोलिटिकल कार्यक्रममा गएको छु। यो पटक म उम्मेदवार बनेर जाँदै छु। मेरो मनमा एकदमै धेरै उत्साह छ,” उनले भने।
थापाले सर्लाही–४ का युवाको भरोसामा आफूले जीवनकै ठूलो राजनीतिक निर्णय लिएको जिकिर गरे। “म जीवनको अत्यन्तै ठूलो राजनीतिक निर्णय गरेर सर्लाही–४ आएको छु, तपाईंहरूको भर परेर,” उनले भने।
उनले अन्तरक्रियामा सहभागी युवालाई निर्वाचनका बेला सर्लाही पुगेर सहयोग गर्न पनि आग्रह गरे। “तपाईंहरूले इलेक्सनको बेलामा सक्ने काम गरिदिनका लागि सर्लाही आइदिनुपर्छ। तपाईंको घर आइदिनुपर्छ। अभिभावकलाई भनिदिनुपर्छ,” उनले भने, “हाम्रो साथी, हाम्रो दाइ, हामीलाई भर गरेर आएको छ, उसलाई यो ठाउँको सांसद बनाएर पठाउनुपर्छ भनेर विश्वासका साथ तपाईंहरूले काम गरिदिनुपर्ने छ। म तपाईंहरूको भरोसा मानेर आएको छु।”
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै निर्वाचनमा जाने निर्णय गरेको थियो। उपसभापति विश्वप्रकाश शर्माले अर्का उपसभापति पुष्पा भुसालको समर्थनमा राखेको प्रस्ताव बैठकले सर्वसम्मत रूपमा पारित गरेको थियो।







फेसबुकबाट तपाईको प्रतिक्रिया