काठमाडौं । सेयर बजारमा मूल्य चलखेलको आरोपमा विवादमा तानिएका दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्। शनिबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका हुन्।
अग्रवाल यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्यसमेत रहेका थिए। सेयर बजारमा कृत्रिम रूपमा मूल्य बढाउने, भ्रामक सूचना फैलाउने र लगानीकर्तालाई भ्रमित पारेर नाफा कमाउने गतिविधिमा संलग्न रहेको आरोप उनीमाथि लाग्दै आएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सेयर मूल्य प्रभावित पार्ने र झुटो कारोबार गरेको आरोपमा पक्राउ गरेको थियो। नेपाल धितोपत्र बोर्डले समेत उनीमाथि अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाएको थियो। करिब १० दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि उनी हाजिर जमानीमा रिहा भएका थिए।
धितोपत्र बोर्डको अध्ययनअनुसार अग्रवालले आफूले सेयर खरिद गरिसकेपछि सामाजिक सञ्जालमार्फत अन्य लगानीकर्तालाई खरिद गर्न प्रेरित गर्दै मूल्य बढाउने काम गर्ने गरेका थिए। उनले “सेयरको मूल्य यति पुग्छ” भन्ने जस्ता दाबी गर्दै भ्रामक प्रचार गर्ने र मूल्य बढेपछि आफ्नो सेयर बिक्री गर्ने गरेको निष्कर्ष निकालिएको थियो।
यसबाहेक, उनले अन्य व्यक्तिका कारोबार खाता आफैं सञ्चालन गर्ने, ब्रोकर कम्पनीहरूसँगको लेनदेनमा विवाद गर्ने तथा एक खाताको रकम अर्को खातामा ट्रान्सफर गर्ने जस्ता गतिविधि गरेको भन्दै धितोपत्र बोर्डमा उजुरीसमेत परेको थियो।
सेयर बजारमा यस्ता आरोपमा मुछिएका व्यक्ति प्रमुख राजनीतिक दलमा प्रवेश गर्नुले राजनीतिक र आर्थिक क्षेत्र दुवैमा चासोको विषय बनेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया