काठमाडौं ।नेपाली कांग्रेसले आफ्नो चुनावी अभियान मधेशबाट सुरु गर्ने भएको छ । माघ १६ गते जनकपुरमा आयोजना हुने प्रदेशस्तरीय सभाबाट पार्टीको चुनावी अभियान औपचारिक रूपमा सुरु हुने कांग्रेसले जनाएको छ ।
सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । पार्टीले उपसभापति शर्मा चुनावी प्रचार प्रसार समितिको संयोजक बनाएका छन् । केन्द्रीय तहबाट उनी सभाको तयारी र संयोजनको जिम्मेवारी सम्हाल्नेछन् ।
मधेशका प्रचार संयोजक नितेशकुमार गुप्ताका अनुसार, “प्रचार प्रसारको तयारीका लागि प्रदेश समितिको आज बैठक बस्नेछ। माघ १६ गतेको बृहत् सभामा लाखौं मान्छे सहभागी हुने अपेक्षा छ।”
सभापति गगन थापा यसअघि सर्लाही–४ बाट उम्मेदवार बनेका थिए । यस निर्वाचनमा दलहरूले मधेशलाई केन्द्र बनाएर निर्वाचन गतिविधि सक्रिय बनाएका छन् ।
यसअघि जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि चुनावी सभा आयोजना गरेको थियो, जसमा काठमाडौंका पूर्व मेयर बालेन शाहले औपचारिक रूपमा सम्बोधन गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया