आईसीसी महिला टी–२० ग्लोबल छनोट : नेपाल आज जिम्बाबेसँग भिड्दै

177 Shares

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तेस्रो खेलमा नेपालले आज जिम्बाबेसँग प्रतिस्पर्धा गर्नेछ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

नेपालले यसअघिका दुई खेलमा पराजय भोगेको छ भने जिम्बाबेले पनि आफ्ना तीन खेलमा सबै हार बेहोरेको छ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग मात्र २ रनले हार व्यहोरेको थियो ।

नेपालले अब अघिल्लो चरण अर्थात सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न बाँकी दुवै खेल जित्नै पर्ने अवस्था छ । समूह ‘बी’ बाट नेदरल्यान्ड्स सुपर सिक्समा पुगिसकेको छ भने थाइल्यान्डको सम्भावना पनि बलियो देखिएको छ । शनिबार विहान हुने थाइल्यान्ड र स्कटल्यान्डबीचको खेलपछि समिकरण अझ स्पष्ट हुनेछ ।

जिम्बाबे महिला टी–२०आई वरियतामा १५औं स्थानमा छ भने नेपाल २१औं स्थानमा रहेको छ । जिम्बाबेले अफ्रिका छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो ।

नेपाल महिला टोली :
इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, मनिषा उपाध्याय, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, रोमा थापा, कविता जोशी, राजमती ऐरी

नेपालको आजको खेलले अघिल्लो चरणमा पुग्ने सम्भावना तय गर्ने महत्त्वपूर्ण भूमिका खेल्नेछ ।