काठमाडौं ।पूर्व शिक्षा मन्त्री महावीर पुनले अरुलाई धोका दिनुभन्दा पनि धोका नदिनका लागि आफूले सरकार छाडेको बताएका छन् ।
मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पुनले आज आयोजित पत्रकार सम्मेलनमा आफूविरुद्ध लागेको ‘धोकेबाज’ र ‘भगौडा’ भन्ने आरोपप्रति स्पष्टीकरण दिएका हुन् । चौतारोमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकार छाड्नुको कारणबारे प्रष्ट पारे ।
‘कसैले धोकेबाज पनि भनेको छ, भगौडा भनेको छ, मन्त्रिपरिषद्लाई धोका दिएको, जेनजीलाई धोका दिएको भनेका छन्,’ पुनले भने, ‘धोका दिनलाई होइन, धोका नदिनलाई छोडेको हो । किनभने त्यहाँ बसेर काम गर्न सकिन्न भने किन बस्ने ?’
सरकारमा बसेर प्रभावकारी रूपमा काम गर्न नसकिने अवस्था देखिएकाले मन्त्री पद त्यागेको उनको भनाइ थियो । पुन मन्त्री पदबाट राजीनामा दिएपछि उम्मेदवारी दर्ता गराउन म्याग्दीस्थित निर्वाचन कार्यालय पुगेका थिए । त्यसपछि उनीमाथि चुनावी सरकारलाई धोका दिएको र पदको लोभ गरेको आरोप लाग्दै आएको छ ।
सामाजिक सञ्जालमा आफूलाई लक्षित गर्दै गरिएको टिप्पणीप्रति पनि उनले प्रतिक्रिया दिएका छन् । ‘एकजना भाइले फेसबुकमा लेखेको देखेँ– महावीरको महा पनि हट्यो, वीर पनि हट्यो,’ पुनले भने, ‘त्यो भन्ने भाइचाहिँ नेपालको मात्रै होइन, संसारमै विद्वान मानिने व्यक्ति हो ।’
पुनले आफू पदका लागि नभई कामका लागि राजनीतिमा सक्रिय भएको दोहोर्याउँदै जनताको साथ र विश्वासका आधारमा अगाडि बढ्ने बताए ।







फेसबुकबाट तपाईको प्रतिक्रिया