काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका ४९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएकाे जनाएको छ।
शुक्रबार आयोगले आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारहरुले दिउँसो १ बजेसम्मको समयभित्र आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो। उहाँका अनुसार मनोनयन दर्ता, दावी–विरोध, नामावली प्रकाशन र उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रमहरू देशभरी शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन्।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दावी–विरोध प्रक्रिया ५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुनेछ र त्यसपछिको छानबिनपछि माघ २० गते अन्तिम बन्दसूची प्रकाशित गरिने छ। आयोगले बन्दसूचीमा समावेश भएका ५८ वटा निर्वाचन चिन्हलाई कायम गर्दै समानुपातिक मतपत्र छपाइको काम पनि सुरु गरिसकेको छ।
प्रवक्ता भट्टराईले देशभर मतदाता संख्या १ करोड ८९ लाख रहेको र त्यसको ७ प्रतिशत बढी मतपत्र छाप्ने निर्णयअनुसार हालसम्म १ करोड ५० लाख मतपत्र छपाइ भइसकेको र बाँकी ५० लाख मतपत्र दुई दिनभित्र छपाइ सकिने जानकारी दिनुभयो।
उहाँका अनुसार प्रत्यक्षतर्फ निर्वाचन चिन्ह प्रदान भएपछि मतपत्र डिजाइन गरी छपाइ गरिनेछ। समानुपातिक मतपत्र देशभर एउटै हुने भए पनि प्रत्यक्षतर्फको मतपत्र निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुनेछ। यसैगरी, मतदाता नामावलीको छपाइ कार्य पनि भइरहेको छ र एक प्रति नामावली छापेर सबै जिल्लामा वितरण भइसकेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया