प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन सुरक्षा कडा बनाउने निर्देशन, दिगो स्थायित्व कायम गर्न सरकार कटिबद्ध

161 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति प्रयोग गरिरहेको बताएकी छन्।

शुक्रबार सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले सुरक्षा चुनौतीहरू समयानुसार परिवर्तन भइरहेका हुँदा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उच्च सतर्कता र व्यावसायिकता कायम गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएकी हुन्।

प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनहरू स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको भन्दै सशस्त्र प्रहरी बलको भूमिका प्रशंसनीय रहेको उल्लेख गरिन्। उहाँले निर्वाचनमा “एक थोपा पनि रगत बग्न नहुने र कोही घाइते नहुने” लक्ष्यअनुसार सुरक्षा व्यवस्थापन गर्न पनि निर्देशन दिएकी छन्।

उनले सबै सुरक्षा अंगलाई परिचालन गर्ने निर्णय गरिसकेको बताउँदै वर्तमान संक्रमणकाल समाप्त गरी मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले कटिबद्ध रहेको र सबै सुरक्षा निकायहरूले उच्च व्यावसायिकता प्रस्तुत गर्ने विश्वास व्यक्त गरिन्।